काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक चाँडाे भन्दा चाँडाे पास गरिने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका लागि आफ्नाे मन्त्रालयमा विनियोजन गरिएकाे बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जाेशीले
साे विधेयक अहिले दफावार छलफलका लागि संसदीय समितिमा रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'संघीय निजामती सेवा विधेयक तयार पारेर दवाफार छलफलका लागि राज्य व्यवस्था समितिमा गएकाे छ, चाँडाे भन्दा चाँडाे साे विधेयक पास गर्ने पक्षमा छाैं ।'
साे विधेय संसद्बाट पास भएपछि तीनै तहका सरकारकाे प्रशासनिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयाे । याे एेन आएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा देखिएका अन्याैलहरु हट्ने विश्वास पनि मन्त्री जाेशीले व्यक्त गर्नुभयाे । स्थानीय सरकार सञ्चालन एेनकाे संशाेधनकाे मस्याैदा तयार भएकाे उहाँले बताउनुभयाे ।
प्रदेश सरकार र स्थानीय सरकारकाे कानुन निर्माणमा मन्त्रालयले सहयाेग गर्दै आइरहेकाे मन्त्री जाेशीले बताउनुभयाे ।
संघीयता कार्यान्वयनका सम्बन्धमा धेरै काम गर्न नसकिएकाे भन्दै उहाँले १० वर्षे रणनीतिक याेजना अनुरुप संघीयता कार्यान्वयन र कर्मचारी व्यवस्थापनकाे काम गरिरहेकाे बताउनुभयाे । मन्त्री जाेशीले मन्त्रालयले स्थानीय तहकाे सुशासन प्रवर्द्धन र सुशासन प्रणालीमा काम गर्दै आइरहेकाे, संघीयता कार्यान्वयनका लागि ५० बढी नमुना कानुन बनाएकाे, तीनै तहका सरकारकाे कार्यविस्तृतीकरण मस्याैदा तयार पार्ने लगायत काम गरिरहेकाे बताउनुभयाे ।
छिटाे छिटाे कर्मचारी सरुवाले समस्या भएकाे कुरा आफूले स्वीकार गर्ने भन्दै मन्त्री जाेशीले कर्मचारी सरुवामा दबाब आउने बताउनुभयाे । कर्मचारी व्यवस्थापनकाे सन्दर्भमा मन्त्रालय आलाेचित छ । कुनै पनि ठाउँमा निमित्तले मात्रै चलाउँछ भन्ने राजनीतिक दबाब आफूलाई आएकाे उहाँले बताउनुभयाे ।
सम्पूर्ण ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने प्रतिबद्धता पनि मन्त्री जाेशीले जनाउनुभयाे ।
