काठमाडौं । तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ राष्ट्रिय सभामा पेस भएको छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले साे विधेयक पेस गर्नुभएकाे हाे ।
साे विधेयक पेस गर्ने सन्दर्भमा कुनै पनि सांसद्बाट विराेधकाे सूचना नआएकाे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई जानकारी दिनुभयाे ।
बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएकाे नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहालले सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि साे विधेयकमाथि सैद्धान्तिक छलफल भएकाे थियाे । छलफलमा उठेका प्रश्नकाे मन्त्री बस्नेतले जवाफ दिनुभएकाे थियाे ।
साे विधेयकमाथि संशाेधन प्रस्ताव राख्न चाहाने सांसद्लाई राष्ट्रिय सभाकाे विधेयक शाखामा संशाेधन प्रस्ताव दर्ता गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालले आग्रह गर्नुभयाे ।
राष्ट्रिय सभाको अर्काे बैठक असार १३ गते बिहीबार दिउँसो सवा १ बजे बस्नेछ ।
