काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गितेन्द्रबाबु (जिबी) राईलाई नेपाल ल्याउन मलेसिया सरकारसँग सरकारले निरन्तर संवाद गरिरहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्का प्रश्नकाे जवाफ दिँदै गृहमन्त्री लामिछानेले केही कानुनी जटिलता पार गर्दै राजनीतिक र कूटनीति सम्बन्धमार्फत जिबीलाई नेपाल ल्याउन सरकार सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेकाे बताउनुभयाे ।
जिबी राईलाई नेपाल ल्याएर पीडितकाे बचत फिर्ता हुने वातावरण बनाउन सरकार प्रयासरत रहेकाे उहाँले बताउनुभयाे । आफूमाथि लागेका लाञ्छनाबाट मुक्त हुनका लागि पनि जिबी राई पक्राउ ब्यग्र प्रतिक्षाकाे विषय भएकाे गृहमन्त्री लामिछानेले बताउनुभयाे । 'जिबी राईलाई नेपाल ल्याएर पीडितकाे बचत फिर्ता हुने वातावरण बनाउन सरकार प्रयासरत छ, प्रतिबद्ध छ, निरन्तर रुपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्यतथ्य उद्घाटिन हुन, व्यक्तिगत रुपमा मेरा लागि पनि उनकाे पक्राउ ब्यग्र प्रतिक्षाकाे विषय हाे'- उहाँले भन्नुभयाे ।
जिबी राईलाई नेपाल ल्याउने विषयमा मलेसियाका विदेशमन्त्रीसँग २ पटक फाेनवार्ता भएकाे जानकारी दिँदै गृहमन्त्री लामिछानेले कानुनी प्रक्रियामार्फत जिबीलाई ल्याइने दाेहाेर्याउनुभयाे । 'जिबी राई फरार भएकाे ११औं महिना भयाे, उनी फरार भएकाे ८ महिनापछि म गृहमन्त्रीकाे नेतृत्वका आएकाे हूँ, प्रतिपक्षमा बस्दा पनि बाेलेकै हाे, आकाशमा भएपनि पातालमा भएपनि पक्राउ गर्छु मैले भनेकाे हूँ, इमान्दार भएर लागेकाे छु'- उहाँले भन्नुभयाे ।
प्रहरी सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगरेकाे भन्दै गृहमन्त्री लामिछानेले नियमित पक्रियालाई आफ्नाे बदनाम गर्नका लागि अनेक भ्रम फैलाइएकाे बताउनुभयाे ।
