काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न सरकारसँग माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले नेपालमा २०१५ सालदेखि संसदीय अभ्यास सुरु भएपनि त्यो बेलादेखिका संसदीय गतिविधि सर्वसाधारणले सजिलै पाउन नसक्ने अवस्था रहेकाे बताउनुभयाे ।
त्याे बेलादेखि अहिलेसम्मका संसद्का समग्र गतिविधिलाई वेवसाइटमा राखेर सर्वसाधारणले सजिलै अध्ययन गर्ने व्यवस्था तत्काल मिलाउन उहाँले सरकारसँग माग गर्नुभयाे ।
००८ सालदेखिका राजपत्र, ०१३ सालदेखिका पत्रिका, सर्वाेच्च अदालतमा फौजदारी मुद्दाकाे अवस्था, मन्त्रिपरिषद्का निर्णयहरु वेवसाइटमा सजिलै पाउन सकिने भन्दै प्रमुख सचेतक बर्ताैलाले संसद्काे गतिविधिलाई पनि यसरी सजिलै प्राप्त गर्न सक्नेगरी व्यवस्थित गर्नुपर्ने बताउनुभयाे । 'नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भयो, २०१५ देखिका संसद्का गतिविधिकाे आन्तरिक अभिलेख त हाेला तर पब्लिक डोमेनमा आएन, अहिलेसम्म हेर्दा संसद्का सबै प्रकारका अभिलेखहरुलाई व्यवस्थित ढंगबाट सर्वसाधारणले सजिलै प्राप्त गर्ने तहमा पुर्याउन सकेका छैनौं, आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु - संसद्का समग्र गतिविधिहरुलाई वेवसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु, २००८ देखिका राजपत्र खोज्दा भेट्न सक्छौं, २०१३ सालदेखि पत्रिका भेट्नसक्छौं, देशभर फौजदारी मुद्दा के कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने सजिलै भेट्न सकिन्छ, मन्त्रिपरिषद्का निर्णयहरु पनि त्यसका समरीका रुपमा वेवसाइटमा भेट्न सक्छौं, तर संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढंगबाट अध्ययन गर्न पाउने व्यवस्था छैन, यसलाई व्यवस्थित गरियाेस्'- उहाँले भन्नुभयाे ।
