काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालऔभारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने पहल भइरहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्रालय अन्तर्गतकाे विनियाेजन शीर्षकमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले दुई देशकाे समझदारीबाट साे प्रतिवेदन बुझ्ने पहल भइरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'दुवै देशकाे समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ ।'
आफ्नो भारत भ्रमणमा पनि साे विषयमा समझदारीका लागि पहल गरेको उहाँले दाबी गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले नेपाल–भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय समहमतिका आधारमा अगाडि बढाइने बताउनुभयाे ।
रूस-युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासंघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल समेत गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पार्नुभयो । हमासकाे नियन्त्रणमा रहेका विपिन जाेशीकाे रिहाइका लागि पहल भइरहेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
राहदानी वितरणलाई सहज र सरल बनाइएकाे उहाँले बताउनुभयाे ।
