काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झाैता कार्यान्वयनका लागि हस्ताक्षरको तयारी भइरहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षरका लागि अन्तिम तयारी भइरहेकाे बताउनुभयाे ।
उहाँले आफू दाेस्राे पटक प्रधानमन्त्री हुँदा बीआरआईकाे एमओयूमा हस्ताक्षर भएकाे र तेस्राे पटक प्रधानमन्त्री हुँदा भएकाे आफ्नाे चीन भ्रमणमा बीआरआई कार्यान्वयनलाई अन्तिम रुप दिने र हस्ताक्षर गर्नेसहितकाे संयुक्त वक्तव्य जारी भएकाे स्मरण गराउनुभयाे । 'म दोस्रोपटक प्रधानमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर गरिएको हो, त्यो एमओयू मात्र थियो, म तेस्रोपटक प्रधानमन्त्री भएपछि चीन भ्रमणकाे क्रममा याे विषयमा गम्भीर छलफल भयो, बीआरआई कार्यान्वयन गर्ने परियोजनालाई अन्तिमरुप दिने र हस्ताक्षर गर्ने बारेमा छलफल भयो, त्यति बेलाको संयुक्त वक्तव्यमा सकेसम्म छिटो बीआरआई कार्यान्वयनलाई अन्तिम रुप दिने र हस्ताक्षर गर्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएकाे छ । बीआरआई कार्यान्वयन सम्झौता अगाडि बढाउनेबारे अन्तिम काम भइरहेको छ, मलाई लाग्छ केही समयभित्रै यसमा हस्ताक्षर हुन्छ'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपविदेशमन्त्री सुन नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुनुभएकाे र जारी बैठकमा यसबारे छलफल हुने उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले बीआरआईमार्फत ऋण लिएर देशलाई माखेसांग्लाेमा पर्न नदिइने प्रतिबद्धता पनि जनाउनुभयाे । बीआरआई कार्यक्रम कार्यान्वयनमा सकेसम्म अनुदान नै प्रयाेग गरिने उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'केही सांसद्हरुलाई बीआरआईले ऋणको माखेसांग्लाेमा नेपाल पर्ने हो कि भन्ने चिन्ता छ, सरकार त्यसमा प्रष्ट छ, हामी कुनै ऋणको माखेसांग्लाेमा पर्नेछैनौं, बीआरआईका परियोजना अनुदानमा आउन भन्ने हाम्राे पहिलो प्राथमिकता हुनेछ, विश्व बैंक, एशियाली विकास जस्तो ब्याजदरमा (सफ्ट) लोन लिने कुरा दाेस्राे प्राथमिकतामा रहेकाे छ ।'
महंगो ब्याजमा ऋण लिएर तिर्न सक्ने अवस्थामा देश नरहेकाे र याे कुरा आफूले चीनसँग प्रष्ट रुपमा राखेकाे पनि उहाँले बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'महंगो ब्याजमा ऋण लिएर तिर्न सक्ने स्थिति छैन भनेर चिनियाँ पक्षलाई बेइजिङ जाँदा र अहिले पनि स्पष्टसँग भनेकाे छु त्यसकारण ऋणकाे माखेसांग्लाेमा नपर्नेगरी याे परियाेजना अघि बढाउने कुरामा स्पष्ट छाैं ।'
चीनसँग सिमानामा भएका समस्यामा पनि छलफल चलिराखेकाे उहाँले बताउनुभयाे ।
