काठमाडाैं । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकबाट विनियाेजन विधेयक बहुमतले पारित भएकाे हाे ।
विनियाेजन विधेयक, २०८१ पारित गरियाेस् भन्दै अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुखकाे आसनमा बस्नुभएका उपसभामुख इन्दिरा रानाले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि सांसद्हरुले राखेका खर्च कटाैतीका प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे । त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएकाे थियाे ।
विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसद्ले उठाएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए । प्रतिनिधि सभामा जेठ २९ गतेदेखि विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।
बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महशुलसम्बन्धी विधेयक पारित हुने प्रक्रियामा छन् ।
बजेटकाे विनियाेजन विधेयक बजेटकाे मुख्य विधेयक हाे भने अरु विधेयक पूरक विधेयक हुन् । पूरक विधेयक संघीय संसद्बाट पारित भएपछि मात्र साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जानेछ ।
