काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले चीनले अघि बढाएकाे बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी सम्झाैता पत्रमाथि सदनमा छलफल हुनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् खनालले परराष्ट्र मन्त्रालयकाे कार्यभार समेत सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टिकरण माग गर्ने क्रममा बीआरआईकाे चर्चा धेरै हुने गरेकाले सदनमा छलफल गर्नुपर्ने बताउनुभयाे ।
सदनमा छलफल गर्ने विषयमा सरकारले के साेचिरहेकाे छ भन्दै उहाँले प्रश्न गर्नुभयाे । 'नेपालले सन् २०१७ मा बीआरआईसम्बन्धी सम्झाैता गरेकाे, उक्त सहमति-सम्झौताबारे यस सदनमा औपचारिक छलफल नभएको हुँदा यसले अनावश्यक रूपमा उक्त सहमतिबारे बाहिर बढी चर्चा परिचर्चा हुने गरेको छ, जसले गर्दा हाम्रो छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा पनि टेन्सन आउन सक्ने देखिन्छ, उक्त सम्झौताबारे औपचारिक जानकारी र छलफल गराउनेबारे सरकारले के सोचिराखेको छ ?'- सांसद् खनालकाे प्रश्न थियाे ।
सांसद्का प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारकै प्रतिनिधि सभा बैठकमा बीआरआई कार्यान्वयनका लागि अन्तिम तयारी भइरहेकाे बताउनुभएकाे थियाे ।
नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
