काठमाडौं । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएकाे लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेकाे हाे ।
मन्त्री भण्डारीले प्रस्तुत गर्नुभएकाे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख देवराज घिमिरेले बहुमतले स्वीकृत भएकाे बताउनुभयाे । साे विधेयक संशाेधन राख्न चाहाने सांसद्हरुले ७२ घण्टाभित्र प्रतिनिधि सभाकाे विधेयक शाखामा संशोधनको सूचना दिन सक्ने जानकारी गराउनुभयाे ।
सैद्धान्तिक छलफलका क्रममा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिँदै मन्त्री भण्डारीले देशमा लगानीकाे वातावरणका लागि सबै दलले साझा संकल्प गर्नुपर्ने बताउनुभयाे । विधेयकलाई समृद्ध बनाएर अघि बढ्नुपर्ने भन्दै उहाँले समयसीमामा विधेयक पारित गर्नुपर्ने बताउनुभयाे । पर्याप्त छलफल गरेर विधेयक पारित गरिने मन्त्री भण्डारीले बताउनुभयाे ।
अध्यादेशबाट विधेयक संशाेधनकाे प्रस्ताव सरकारकाे इच्छा नभएकाे र प्रतिनिधि सभाकाे अधिवेशन नभएकाले संवैधानिक व्यवस्था अनुसार ल्याइएकाे बताउनुभयाे ।
विधेयकलाई समृद्ध बनाउन सांसद्का सुझाव महत्वपूर्ण रहेका भन्दै उहाँले साझा बिन्दुबाट विधेयक पारित गर्नुपर्ने सांसद्हरुकाे प्रस्ताव सकारात्मक रहेकाे बताउनुभयाे । साे विधेयकबाट ८ वटा एेन संशाेधन गरिएकाे मन्त्री भण्डारीले बताउनुभयाे । संशाेधनका लागि याे एेन मात्र पर्याप्त नरहेकाे भन्दै उहाँले याे सरकारकाे पहिलाे प्रयास भएकाे बताउनुभयाे ।
नेपालमा स्वदेशी र विदेशी अर्थात आन्तरिक र बाह्य दुवै लगानी आवश्यक रहेकाे भन्दै उहाँले लगानीकाे वातावरणका लागि सबैभन्दा पहिला कानुन आवश्यक रहेकाे बताउनुभयाे ।
