काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिकाे छैटाैं बैठक बुधबार बसेकाे छ ।
सिंहदरबारमा बसेकाे समितिकाे बैठकले गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकममा चासाे केन्द्रित गर्ने र ९ वटा सहकारीका संस्थाका कागजात माग्ने निर्णय गरेकाे छ ।
समितिकाे कार्यविधिकाे अनुसूची-२ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात सम्बन्धित निकायबाट माग गर्ने निर्णय गरेको समिति संयाेजक सूर्य थापाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयाे । उहाँले अनुसूची-२ मा रहेका (आईडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था लि. सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण ) सहकारी संस्थाहरूको कागजात माग्ने निर्णय भएकाे बताउनुभयाे । 'ती सहकारीहरूको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरू माग गरिएकाे छ'- संयाेजक थापाले भन्नुभयाे ।
गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको उहाँले बताउनुभयाे । कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको बताउँदै समिति संयाेजक थापाले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीहरूको कागजात माग गर्ने निर्णय गरेका छौं, गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा हाम्रो चासो केन्द्रित भएको छ, हामीलाई टिओआरमा कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ, हामी त्यसमा अगाडि बढेका छौं ।'
यसअघिका गठन भएका विभिन्न अध्ययन समिति, छानबिन समिति र जाँबुझ आयाेग गरेर ८ वटाकाे प्रतिवेदनहरू समितिलाई प्राप्त भएकाे जानकारी दिँदै संयाेजक थापाले ती प्रतिवेदन समिति सदस्यलाई अध्ययन गर्न दिइएकाे बताउनुभयाे ।
आजकाे बैठकमा पूर्वमन्त्री तथा सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडालसँग छलफल गरिएकाे जानकारी उहाँले जानकारी दिनुभयाे ।
समितिले ३ महिनाकाे कार्यादेश पाएकाे भन्दै संयाेजक थापाले छानबिन प्रभावित हुने खालका सामग्री प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयाे । याे समिति कसैलाई जाेगाउन र फसाउन नबनेकाे प्रष्ट पार्दै उहाँले समितिले दूधकाे दूध पानीकाे पानी छुट्याउनेगरी काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।
