काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुलप्रसाद बास्काेटाले किसानलाई दूधकाे मूल्य तत्काल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् बास्काेटाले किसानले दूध बेचेकाे ५ अर्ब बढी रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
यस विषयमा वर्षाैदेखि सदनबाट सरकारकाे ध्यानाकर्षण गराएपनि माग पूरा हुन नसेकाे भन्दै उहाँले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हाे ? भन्ने प्रश्न गर्नुभयाे । 'याे आवाज संसद्मा पुरानाे भयाे वर्षाैंदेखि एउटा माग उठिरहेकाे छ तर सरकार फेरिन्छ मन्त्रीज्यू फेरिनुहुन्छ समस्या ज्युँकात्युँ रहन्छ याे के भएकाे ? किसानकाे दूधकाे मूल्यकाे रकम किन नपाएकाे ? उनीहरुले ५ अर्ब बढी रकम पाउन बाँकी छ, पसिना चुहाएकाे, दूध बेचेकाे, नंग्रा खियाएकाे कुरालाई महिनाैदेखिकाे भुक्तानी नदिएर किन रुवाउँदैछाैं ? किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हाे ? जनताकाे सरकार हाेइन ? जनताप्रति जवाफदेही हुनुपर्छ कि पर्दैन ?'- सांसद् बास्काेटाकाे प्रश्न छ ।
दूग्ध विकास संस्थानले १ अर्ब ५५ कराेड बढी भुक्तानी गर्न बाँकी रहेकाे र निजी क्षेत्र नाफामा मात्र लिप्त भएकाे र जवाफदेही नभएकाे उहाँले बताउनुभयाे ।
लम्पी स्किनकाे महामारीबाट अरबाैं क्षति भएपनि किसानले पशु बीमाकाे रकम र गाई वस्तुकाे मूल्य नपाएका सांसद् बास्काेटाले बताउनुभयाे । त्याे पीडा भूल्दै दूध बेचेका किसान अहिले दूधकाे पैसा नपाएर पीडामा बसिरहेका उहाँले बताउनुभयाे । एउटै वडामा ६ कराेड बढी रकम तिर्न बाँकी रहेकाे भन्दै सांसद् बास्काेटाले प्रश्न गर्नुभयाे - 'यसमा सरकारकाे दृष्टिकाेण के हाे ? प्रधानमन्त्री, अर्थमन्त्री र कृषि मन्त्रीकेाे कुरा के हाे ?'
देशकाे उत्पादनले पुग्ने अवस्था हुँदाहुँदैपनि धुलाे दूध र दूग्धजन्य पदार्थ बाहिरबाट ल्याइएकाेमा आपत्ति जनाउँदै उहाँले प्रश्न गर्नुभयाे - 'धुलाे दूध बाहिरबाट ल्याउने, दूग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हाे ? जब हाम्राे उत्पादनले पुग्छ भने संरक्षणकाे कुनै कुरा हुन्छ कि हुँदैन ? डब्ल्यूटिओ र कानुनले छेक्छ कि छेक्दैन ? यतातिर कुनै ध्यान छैन ।' संस्थानमा ११ सय ५१ मेट्रिक टन धुलाे दूध र ८ सय ५० मेट्रिक टन मखन थन्किएर बसेकाे उहाँले बताउनुभयाे ।
सरकारले अनुदान पनि नदिएकाे र दूग्ध विकास बाेर्ड पनि सुधार गर्न नसकेकाे बताउनुभयाे । २४ लाख ६० हजार लिटर दूध मासिक खरिद हुने बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'किसानहरु कसरी बस्ने ? मल, बिउ र कपडा किन्न छैन, बच्चाकाे फि तिर्न छैन, बाबुआमा बिरामी छन् सिटामल किन्न छैन, दाना औषधि किन्न सकेका छैनन्, यस्ताे खालकाे रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन ? एउटै कुरा वर्षाैं दाेहाेरिने हाे भने जनताले के आशा गर्ने ?'
दूध किसानले भिख नमागेका भन्दै सांसद् बास्काेटाले उनीहरुकाे पैसा नदिए सरकारको जवाफदेहितामा प्रश्न उठ्ने बताउनुभयाे । किसानलाई न्याय दिन र राष्ट्रिय पुँजीकाे विकासमा ध्यान दिन माग गर्नुभयाे । 'के गर्याे भने किसानले न्याय पाउँछन् ? फ्रान्समा जस्ताे ट्याक्टर ल्याएर सडकमा राख्नुपर्ने हाे ? कि गाईवस्तु ल्याएर सडकमा छाडिदिनुपर्ने हाे कि ? याे समस्या जति तन्काउँछाैं सरकारकाे लाेकप्रियता र जवाफदेहीतामाथि प्रश्न उठ्छ ।'
याे कुरा फेर उठाउन नपराेस् भन्ने चेतावनी पनि उहाँले दिनुभयाे ।
