काठमाडाैं । नेपाली कांग्रेसका सांसद् नारायणप्रकाश (एनपी) साउदले राजदूत फिर्ता र नयाँ नियुक्ति सम्बन्धी निर्णय सच्याउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका सांसद् साउदले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउन सरकारसँग माग गर्नुभयाे ।
नेपालले आफ्नाे कूटनीतिलाई भरपर्दाे र परिपक्क बनाउनुपर्ने बेलामा विश्वका शक्तिशाली ११ देशबाट राजदूत फिर्ता गर्ने काम भएकाे र याे गलत रहेकाे उहाँले बताउनुभयाे । बिनाकारण राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको दाबी सांसद् साउदले बताउनुभयाे ।
सत्ता गठबन्धनका दलले भागबण्डा गरेर राजदूत नियुक्ति गरेका र केही राजदूतले मापदण्डबिना बस्न मिल्दैन भनेर पद परित्याग गरेकाे अवस्था रहेकाे उहाँले बताउनुभयाे । केही राजनीतिक दलले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदूत चयन गरेका भन्दै सांसद् साउदले आपत्ति जनाउनुभयाे । 'यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ, त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ। फिर्ता लिनुपर्छ। नेपालको कूटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन। म यो आग्रह गर्न चाहन्छु'- उहाँले भन्नुभयाे ।
सरकारले चीनकाे परियाेजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारे चीन र अन्य मुलुकसँग फरक-फरक कुरा गरेर कच्चा कूटनीतिक खेल खेलेकाे आराेप उहाँले लगाउनुभयाे । 'चीनलाई हामी बीआरआईमा सम्झाैता गर्दैछाैं भन्ने किसिमकाे लगातार सन्देश दिने, तर त्याे सन्देशलाई सत्ता समीकरणका सन्दर्भमा प्रयाेग गर्ने र त्यसकाे ठाउँमा अन्य छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायलाई हामी बीआरआईलाई राेक्दैछाैं राेकिराखेका छाैं भन्ने किसिमकाे कच्चा किसिमकाे कूटनीतिक चाल भयाे, कूटनीतिक प्रयत्न भयाे भने त्यसले छिमेकी मात्र हाेइन त्यसले अन्तर्राष्ट्रिय समुदायकाे नजरमा पनि नेपालकाे प्रतिष्ठा घट्न सक्छ'- सांसद् साउदले भन्नुभयाे । बीआरआईमा नेपालकाे लक्ष्य के हाे ? बीआरआई अनुदानमा अगाडि बढाउनुपर्ने बताउनुभयाे । ठूला परियाेजना ऋणका भरमा अघि बढाउन खाेजे भाेलि ऋणकाे गलपासाे हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयाे ।
नेपाल भ्रमणमा आउनुभएका चिनियाँ उपविदेशमन्त्री सुनसँग बीआरआईबारे कुरा गर्दै सरकारले कूटनीतिक रुपमा अपरिपक्कता देखाएकाे आराेप सांसद् साउदले लगाउनुभयाे । बीआरआईबारे सरकारले प्रतिपक्षसँग छलफल नगरेकाे भन्दै उहाँले आपत्ति पनि जनाउनुभयाे ।
