काठमाडौं । प्रतिनिधि सभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेकाे हाे ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले प्रस्तुत गर्नुभएकाे अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियाेस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल भएको थियो ।
छलफलपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद् रामकृष्ण यादवले गणपुरक संख्या नपुगेको हो भनेर ध्यानाकर्षण गराउनुभएकाे थियाे । ३ मिनेट घण्टी बजाएर संख्या गणना गर्दा एक चौथाई अर्थात् ७९ जना आवश्यक पर्ने अवस्थामा ८६ जना सांसद् उपस्थित भएका थिए । त्यसपछि सभामुखले बैठक अघि बढाउनुभएकाे थियाे ।
