काठमाडौं । प्रतिनिधि सभाका केही सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरूलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गर्नुभयाे ।
उहाँले संसदीय सुनुवाइ समितिमा डोलप्रसाद अर्यालको ठाउँमा डा. स्वर्णिम वाग्लेलाई राखिएकाे बताउनुभयाे । अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानुन न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई राखिएको छ ।
सभामुख घिमिरेका अनुसार रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ । टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ ।
अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ । हरि ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएकाे छ ।
असिम शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा लगिएकाे छ ।
सभामुखले गर्नुभएकाे हेरफेरलाई सभाले सर्वसम्मतिले स्वीकृति जनाएकाे थियाे ।
