काठमाडाैं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभाकाे बैठककाे विशेष समयमा बाेल्दै सांसद् घर्तीले अगुमन प्रभावकारी नहुँदा महंगी र कालाेबजारी बढेकाे बताउनुभयाे ।
दशैं-तिहार लगायत चाडपर्व आउँदा मात्र बजार अनुगमनले तिब्रता पाउने र अरुबेला सुस्ताउँदै जाने प्रवृत्ति बढेकाे भन्दै उहाँले अनुगमनलाई प्रभावकारी बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'दशैं-तिहार जस्ता चाडपर्व नजिकिन्छन् त्यतिबेला मात्र बजार अनुगगमनले तिब्रता पाउने, अरुबेला सुस्ताउँदै जाने कुराले बजारमा कालाेबजारी र म्याद गुज्रेका सामान छ्यापछ्यापति छन्,जति प्रभावकारी अनुगमन हुनुपर्ने हाे त्यति हुन सकेकाे छैन, यस विषयमा सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।'
तीनै तहकाे सरकारमा अनुगमन समिति भएपनि तिनीहरुले कार्यक्षेत्र अनुसार अनुगन गर्न नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'बजेट भाषण सकिन पाएकाे छैन, अर्काे दिनदेखि ह्मवात्तै महंगी बढेकाे छ, यसमा नियन्त्रण कसले गर्ने ? अनुगमन कसले गर्ने ?'
बजार अनुगमन भइहालेपनि मिलेमताेमा सूचना चुहावट गर्ने प्रवृत्ति बढेकाे उहाँले बताउनुभयाे । सूचना चुहावट गर्नेलाई कारबाही गर्नका लागि कानुन भएपनि कार्यान्वयन नभएकाे उहाँले बताउनुभयाे । एकातिर प्रभावकारी अनुगमन नभएकाे र त्यसका लागि बनेका संयन्त्रले पनि काम नगर्दा गुणस्तरहिन वस्तुकाे बिक्री वितरण बढेकाे बताउनुभयाे ।
एम्बुस जस्तै छाेडिएका विद्युत प्राधिकरणका तारका कारण सर्वसाधारणले ज्यान गुमाउनुपरेकाे भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । प्राधिकरणकाे लापरबाहीका कारण ज्यान गुमाएकाहरुलाई क्षतिपूर्तिकाे स्पष्ट व्यवस्था गर्न माग गर्नुभयाे ।
