काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले नेपालका महत्पूर्ण अभिलेख र संस्कृति सम्पदाहरू देश बाहिर गइरहेका बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले त्यस्ता अभिलेखलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । भोलि नेपालको पूर्ण इतिहास लेख्न तिनै अभिलेख आधार हुने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो । ‘त्यस्ता अभिलेखहरू या त अज्ञानतावश नष्ट भइरहेका छन्, या त विदेश गइरहेका छन्’, उहाँले भन्नुभयो ।
नेपालमा ल्याइने अधिकांश कानुन कर्मचारीले ड्राफ्ट गर्ने भएकाले त्यसमा कहीँ कमजोरी देखिएको पन्तले बताउनुभयो । कर्मचारी संयन्त्र बाहिर रहेका विज्ञसँग छलफल नगरी ल्याउँदा विधेयकहरू सङ्कुचित हुने गरेका उहाँले सुनाउनुभयो । छलफल गरेर संशोधन गर्न खोज्दा स्टकचरमा नै फेरबदल गर्नुपर्ने भएकोले निक्कै गाह्रो हुने उहाँले बताउनुभयो ।
