काठमाडाैं । प्रतिनिधि सभा सदस्यहरुले जननेता मदन भण्डारीलाई स्मरण गरेका छन् ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य र विशेष समयमा बाेल्दै सत्तारुढ र प्रतिपक्ष दलका सांसद्ले एमालेका तत्कालीन महासचिव तथा जननेता भण्डारीलाई स्मरण गर्दै श्रद्धाञ्जली दिएका हुन् ।
शून्य समयमा बाेल्दै एमाले सांसद्हरु पृथ्वीसुब्बा गुरुङ, ईश्वरबहादुर रिजाल, ईश्वरी घर्ती, जुली कुमारी महताे, माओवादीकी सांसद् नैनकला थापा लगायतले भण्डारीलाई श्रद्धाञ्जली अर्पण गर्नुभयाे । कांग्रेस सांसद् प्रदीप पाैडेल, जसपा सांसद् रञ्जुकुमारी झा लगायतले पनि भण्डारीलाई स्मरण गर्नुभयाे ।
विशेषमा समयमा बाेल्दै एमाले उपमहासचिव एवं सांसद् पृथ्वीसुब्बा गुरुङले नेपालकाे राजनीतिमा, नेपालकाे कम्युनिष्ट आन्दाेलन र विश्वकाे कम्युनिष्ट आन्दाेलनमा महत्वपूर्ण याेगदान पुर्याउनुभएकाे भन्दै स्मरण गर्नुभयाे । उहाँले नेपालकाे राज्यसत्ताकाे लाेकतान्त्रिकरणमा पुर्याएकाे याेगदानकाे सबैले कदर गर्नुपर्ने बताउनुभयाे ।
सांसद् रिजालले जीवन अगाडि बढ्छ सिद्धान्तले त्यसलाई पछ्याइरहनुपर्छ भन्ने आधारमा नेपालमा मदन भण्डारीले जनताकाे बहुदलीय जनवाद (जबज)काे सुरुआत गर्नुभएकाे स्मरण गर्नुभयाे ।
सांसद् घर्तीले जननेता भण्डारीले जबजमा कृषकका अधिकार र कृषिकाे आधुनिकीकरणमा जाेड दिनुभएकाे स्मरण गर्नुभयाे । जमिनमाथि रहेकाे सामन्ती भूस्वामित्वकाे पूर्ण रुपमा उन्मूलन गरी अर्धसामन्ती शाेषणका रुपहरुलाई समाप्त पार्दै हदभन्दा बढीकाे जमिन बिनामुआब्जा जफत गरी जाेताहा, भूमिहीन र गरिब किसानलाई वितरण गर्ने, सस्ताे ब्याजदरमा कृषि ऋण, कृषि उत्पादनकाे उचित मूल्य प्राप्त गर्न संगठित कृषि बजारकाे व्यवस्था, सहुलियत दरमा उन्नत मल बीउकाे व्यवस्था, सिंचाइ र प्रवाधिक शिक्षा आदि किसानकाे घरदैलाेमा पुर्याउने जस्ता थुप्रै लक्ष्य भण्डारीले अघि सार्नुभएकाे उहाँले बताउनुभयाे । तर किसानहरुले राज्यबाट उचित लाभ पाउन नसकेका सांसद् घर्तीले बताउनुभयाे । वैज्ञानिक तथा उन्नत खेतीकाे विकास गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउनतर्फ केन्द्रित हुन सरकारलाई अनुराेध गर्नुभयाे । चालु आर्थिक वर्षकाे ११ महिनामा नेपालले २०अर्ब बराबरकाे धान, चामल र धानकाे बिउ आयात गरेकाे भन्दै उहाँले एक दिन खेतमा तमासा देखाएर केही नहुने बताउनुभयाे ।
विशेष समयमा बाेल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् प्रदीप पाैडेलले पनि भण्डारीलाई स्मरण गर्नुभयाे । 'नेपालकाे कम्युनिष्ट आन्दाेलनलाई लाेकतान्त्रिकरण गर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नुभएका स्वर्गीय मदन भण्डारीप्रति श्रद्धासुमन व्यक्त गर्न चाहान्छु'- उहाँले भन्नुभयाे ।
सांसद् थापाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच एकता हुनेबेला मदन भण्डारी भएकाे भए सायद जनयुद्ध सुरु हुने थिएन भनेर स्मरण गर्नुभयाे सुनाउनुभयाे ।
विशेष समयमा बाेल्दै जसपाकी सांसद् रञ्जुकुमारी झाले जबजका प्रणेता भण्डारीलाई स्मरण गर्नुभयाे । 'जबजका प्रणेता जननेता मदन भण्डारीकाे ७३औं जन्मदिवसकाे अवसरमा म उहाँकाे भनाइ याद गर्न चाहान्छु - राजनीतिमा काेही स्थायी शत्रु र मित्र हुँदैन साथै राजनीतिमा थकाइ भन्ने शब्दाबली हुँदैन याे शब्द मलाई खुब याद आइरहेकाे छ, जन्मदिवसमा उहाँलाई याद गर्न चाहेँ'- उहाँले भन्नुभयाे ।
