काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् जनताका प्रतिनिधिको सर्वोच्च थलो भएको बताउनुभएको छ ।
संसद् दिवसको अवसरमा शुभकामना सन्देश दिँदै दाहालले संसदमा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्नुभएको । ‘ संसद्को गरिमालाई अझ उँचो बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसको अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नु पर्दछ, जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउन सके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुनेछ ’, दाहालले जारी गर्नुभएको शुभकामना सन्देशमा लेखिएको छ ।
संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोको रूपमा विकास गर्न संसद् दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने उहाँको विश्वास छ ।
विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो। सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको गरिन्छ ।
