काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
संसद् दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै घिमिरेले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उल्लेख गर्नुभएको छ । बलियो संसद् लोकतन्त्रको आधारशिला भएको उहाँको धारणा छ । ‘बलियो संसद् लोकतन्त्रको आधारशिला हो, त्यसैले संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिइन्छ, लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो’, सन्देशमा उल्लेख छ ।
संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा नेपालको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको धारणा घिमिरेले राख्नु भएको छ । कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने उहाँको विश्वास छ ।
विसं २०१६ साल असार १६ गते नेपालमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
