काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकाेटाले राजनीतिक दलका नेताबीच संवाद हुनु सकारात्मक भएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सापकाेटाले दलहरुका शीर्ष नेताबीच संवाद हुनु सकारात्मक र राम्राे भएकाे बताउनुभयाे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएकाे भेटलाई लिएर आएका समाचारप्रति लक्षित गर्दै उहाँले सत्तापक्ष र प्रतिपक्ष दलका दुई नेताकाबीचमा संवाद हुने बित्तिक्कै सत्ता गठबन्धनमा उलटफेर आउँछ भन्नेजस्ताे भाष्य नबनाउन आग्रह गर्नुभयाे । '२ दिन जतिका समाचार र राजनीतिक घटनाक्रमलाई नियाल्याैं राजनीति तरंगित भएकाे छ, अनाैपचारिक संवाद हुँदा समाचार पढ्दा सिंगै राजनीति तरंगित हुनेजस्ताे एउटा दल र अर्काे दल या सत्तापक्ष र प्रतिपक्ष दलका दुई नेताकाबीचमा संवाद हुने बित्तिक्कै सत्ता गठबन्धनमा उलटफेर आउने भयाे भनेर ठूला ब्यानर न्युजहरु पढ्न पाउँछाैं, दुई जना नेता बस्दाबित्तिक्कै पूरै सत्ताकाे समीकरण उलटफेर हुने बदलिने भाष्ष बनाउने, कुनै विष्लेषण बिनानै निष्कर्षमा पुग्ने जे परिपाटी छ यसले समग्र समाजमा स्थिरताकाे माानसिकता दिँदैन'- सांसद् सापकाेटाले भन्नुभयाे ।
शीर्ष नेताबीच भइरहेका पछिल्ला भेटवार्ता सत्तामा केन्द्रित नभएकाे पनि उहाँले बताउनुभयाे । अन्य देशमा नेताहरुबीच शत्रुता देखिने तर नेपालमा जाेडदारपूर्वक आफ्ना अडान र मुद्दा पनि प्रस्तुत गर्ने र परिआउँदा एकजुट भएर राष्ट्रका समस्या संकट हल गर्ने संस्कार रहेकाे सांसद् सापकाेटाले बताउनुभयाे ।
शीर्ष नेताहरुबीच भेट हुनु राम्राे भएपनि ती भेटमा देशकाे अर्थतन्त्र, युवा पलायन, देशकाे विकास, शान्तिप्रक्रिया लगायत विषयले प्राथमिकता पाउनुपर्ने उहाँले बताउनुभयाे ।
संसारले गम्भीरपूर्वक हेरिरहेकाे शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन बिलम्ब गर्न नहुने बताउनुभयाे । चाँडै टुंग्याउने सहमति भयाे भनेपनि याे विषय अघि बढ्न नसकेकाे उहाँले बताउनुभयाे । कतिपय अवस्थामा शान्ति पक्रियालाई सत्ताकाे बार्गेनिङकाे विषय बनाइएकाे भन्दै उहाँले यसलाई निष्कर्षमा पुर्याउन माओवादीले विशेष पहल गर्नुपर्न बताउनुभयाे ।
