काठमाडाैं । नेकपा एमालेका सांसद् लिलानाथ श्रेष्ठले चिनियाँ परियाेजना बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई) महत्वपूर्ण परियाेजना भएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् श्रेष्ठले नेपालकाे हितलाई ध्यानमा राखेर बीआरआई अगाडि बढाउनुपर्ने बताउनुभयाे ।
बीआरआई कार्यान्वयनका लागि सरकारले तयारी गरिरहेकाे भन्दै उहाँले बीआरआईबारे व्यापक अनुसन्धान गरेर अगाडि बढाउँदा नेपाललाई फाइदा हुने बताउनुभयाे । 'यस्ता परियाेजना अगाडि बढाउँदा नेपालकाे हित र विकासलाई हेरेर गर्नुपर्छ, नेपालकाे हितमा ध्यान दिएर बीआरआईलाई अगाडि बढाउनुपर्छ'- सांसद् श्रेष्ठले भन्नुभयाे ।
बीआरआई कार्यान्वयन भए नेपालमा चीन र भारतबाट पर्यटक आउने भन्दै उहाँले यसबाट देशकाे अर्थतन्त्रमा फाइदा पुग्ने बताउनुभयाे ।
सांसद् श्रेष्ठले सुनकोशी-कमला डाइभर्सनकाे काम अविलम्ब अघि बढाउन पनि सरकारसँग माग गर्नुभयाे । मधेशमा सिरहा र सप्तरीमा सिंचाइकाे व्यवस्था खासै नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'सुनकोशी-कमला डाइभर्सनलाई अबिलम्ब अगाडि बढाउनुपर्छ, विगतकाे सरकारले तराईलाई अन्नकाे भण्डार बनाउने र अन्य ६ प्रदेशलाई तराईबाट अन्न वितरण गर्ने याेजना बनाएकाे थियाे, त्यसका लागि पनि सुनकोशीलाई अविलम्ब अगाडि बढाउनुपर्छ ।'
राष्ट्रपति चुरे संरक्षणका लागि सरकारले दिएकाे १ अर्ब ५ कराेड अपुग रहेकाे सांसद् श्रेष्ठले बताउनुभयाे । तराईमा खानेपानीकाे हाहाकार भएकाे भन्दै उहाँले चुरे दाेहाेनले पर्यावरणीय असर पुर्याएकाे बताउनुभयाे । तराईमा खानेपानीका लागि तत्काल याेजना बनाउन पनि सांसद् श्रेष्ठले माग गर्नुभयाे ।
