काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले अहिले पनि देशमा आशा जगाउन नसकिएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै भण्डारीले अहिले पनि नेपालमा केही हुन सक्दैन भन्ने मानसिकता रहेको बताउनुभयो । ‘किन नेपाली युवा हाम्रो विश्वास गरिरहेका छैनन्, बाहिर गइरहेका छन् ?’ उहाँले प्रश्न गर्नुभयो ।
जिम्मेवारी लिएका मानिसहरू जिम्मेवार बन्नु पर्ने उहाँले बताउनुभयो । पात्र खराब भए भने प्रणाली परिवर्तन गरेर मात्र मुलुक परिवर्तन नहुने उहाँको भनाइ छ । ‘इच्छाशक्ति नभएका व्यक्तिहरूको हातमा मुलुक पर्यो भने प्रणालीले केही गर्दो रहेनछ, भविष्यमा यो नजिर नबनोस्’, उहाँले भन्नुभयो ।
विद्यार्थी र युवालाई आशा र विश्वास सरकारले दिनु पर्ने उहाँले बताउनुभयो । विश्वविद्यालयलाई नेपालका डाक्टर, इञ्जिनियर बनाउने थलो बनाउने भन्दा पनि नेपालमा पढाउन पाइँदैन भन्ने आन्दोलन भइरहेका भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । ‘विश्वविद्यालय नबनी मुलुक बन्न सक्दैन’, उहाँले भन्नुभयो ।
बन्दै नबन्ने र चल्दै नचल्ने योजना बनाउने पनि भ्रष्टाचारी भएका बताउँदै उहाँले त्यस्तालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । शिक्षण संस्था, अस्पताल र सरकारी कार्यालयमा ताला लगाउने, समयमा परीक्षा नलिने पनि अपराधी भएकाले उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने भण्डारीले बताउनुभयो ।
अनेक खालका परिचयपत्र ल्याएर नागरिकलाई दुःख दिने पनि अपराधी र भ्रष्टाचारी भएको भण्डारीको भनाइ छ । ‘जनतालाई दुःख दिएको छ, वृद्ध–वृद्धाहरूलाई दुःख दिएको छ, जनतालाई त्रसित बनाएको छ’, उहाँले भन्नुभयो ।
किसानसँग दूध किनेर बेचेर नाफा कमाउने तर पैसा नतिर्नेसँग वार्ता वा छलफल होइन कारबाही गर्नुपर्ने उहाँले धारणा राख्नु भयो । यसो गर्न सक्दा मात्र नागरिकका आशा जनाउ सकिने भण्डारीको धारणा छ ।
भण्डारीले मुलुक र जनतालाई ठग्ने सबै अपराधी भएका बताउँदै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो । देशमा महँगो ब्याजको विदेशी ऋण लिने, समयमा काम पुरा नगर्ने, काम गर्नेलाई पैसा नतिर्ने, अनावश्यक योजना बनाउने सबैलाई कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
