काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका काण्डको छानबिनका लागि शक्तिशाली आयोग बनाइने बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्ले साेधेका प्रश्नकाे जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले भ्रष्टाचारका २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेकाे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे - 'भइरहेका काण्डहरुकाे मात्र हाेइन, कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्नकाे निम्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा मैले जानकारी गराइसकेको छु, त्यसकारण काेही बेचैन हुनुपर्दैन ।'
भ्रष्टाचारमा जाेकाेही भएपनि निर्मम भएर कारबाही गरिने गृहमन्त्री लामिछानेले बताउनुभयाे । भ्रष्टाचारबारे नेमकिपाका सांसद् प्रेम सुवालले प्रश्न साेध्नुभएकाे प्रश्नकाे जवाफ दिँदै गृहमन्त्री लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार प्रयास गरिरहेकाे बताउनुभयाे । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, संवैधानिक आयाेग जस्ता निकाय हुँदा पनि विभिन्न कारणले आशातित प्रतिफल प्राप्त गर्न नसकेकाे गुनासाे कायमै रहेकाे उहाँले बताउनुभयाे ।
सरकारले न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा भ्रष्टाचार र अख्तियारकाे दुरुपयाेगसँग जाेडिएका विषयमा छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने उल्लेख गरेर काम गरिरहेकाे गृहमन्त्री लामिछानेले बताउनुभयाे । नीति तथा कार्यक्रम र बजेटमा पनि साे विषय समेटिएकाे उहाँले बताउनुभयाे ।
