काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले देश अविरल वर्षाको कारण आक्रान्त भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै गैरेले बाढी पहिरोले मानवीय र धनजनको क्षति भएको बताउनुभयो । ‘देशको अवस्था विकराल छ’, उहाँले भन्नुभयो ।
गृह मन्त्रीले विपत् व्यवस्थापनको तयारी गरिएको बताउनुभए पनि त्यसले कुनै काम गर्न नसकेको उहाँले बताउनुभयो । दुई दिनको वर्षाबाट यति धेरै क्षति हुनुले सरकारको तयारी नाकाम साबित भएको उहाँको भनाइ छ । ‘ती योजनाहरू कुनै पनि कामयाबी हुन सकेको देखिएन’, उहाँले भन्नुभयो ।
सरकाले उद्धार र राहतको राम्रो योजना बनाउन नसक्दा देशले अहिलेको अवस्था भोग्नु परेको उहाँले बताउनुभयो । ‘समग्र उद्धार र राहतमा सरकारको व्यवस्थापन फितलो छ भन्ने बुझिन्छ’ गैरेले भन्नुभयो ।
देशमा उत्पन्न समस्या समाधानको लागि सरकारको ध्यान नगएको उहाँले बताउनुभयो । अल्पमतमा पर्नुभएका प्रधानमन्त्री अहिले पनि संविधानको होल खोजेर सत्ता टिकाउने षडयन्त्रमा नै केन्द्रित हुनुभएको गैरेको धारणा छ । ‘सरकारले घोर अल्पमतमा परेको छ, तर बाँसुरी बजाएर बसेको छ’, उहाँले भन्नुभयो ।
उहाँले सरकारलाई राजीनामा दिएर बाटो खालि गरिदिन आग्रह गर्नुभयो । यो सरकारले राहत र उद्धारको कुनै पनि काम गर्न नसक्ने भएकोले छिटोभन्दा छिटो बाटो खालि गरिदिनु पर्ने उहाँले स्पष्ट पार्नुभयो ।
