काठमाडौं । प्रतिनिधि सभा सदस्य किरणकुमार साहले यतिबेला देशलाई बलियो सरकार चाहिएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै साहले अहिले देश बाढी पहिरोको चपेटामा परेको र नागरिक आक्रान्त भएका बताउनुभयो । नागरिकलाई उद्धार र राहतको आवश्यकता परेको भए पनि सरकारले केही काम गर्न नसकेको उहाँको धारणा छ । ‘सङ्कटको यो घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ, प्रधानमन्त्रीले नैतिकताको आधारमा जिम्मेवारी लिनु पर्छ र राजीनामा दिनुपर्छ’, साहले भन्नुभयो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परिसकेकाले पादबाट राजीनामा दिएर बलियो सरकार बनाउने बाटो खोलिदिनु पर्ने साहले बताउनुभयो । ‘वर्तनमा प्रधानमन्त्रीले बहुमत गुमाइ सकेका छन्, जसले देशलाई अस्थिरता र अन्योलतामा पुर्याएको छ’, उहाँले भन्नुभयो ।
उहाँले नयाँ नेतृत्वले देशलाई नयाँ दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । नयाँ बन्ने सरकारले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना अनुसार काम गर्ने उहाँको विश्वास छ ।
