काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले वर्तमान सत्ता समीकरण एमालेको कारण नभई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण टुटेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै बर्तौलाले प्रधानमन्त्री दाहालले एमाले विरुद्ध षडयन्त्र गर्न लागेपछि सम्बन्ध तोड्नु परेको बताउनुभयो । नेकपा एमालेले सरकारलाई बलियो बनाउन खोजेको भए पनि प्रधानमन्त्रीकै कारण समीकरणबाट अलग्गिनु परेको बर्तौलाले स्पष्ट पार्नुभयो । ‘सरकारका प्रधानमन्त्री सदैव सँगै रहने तर अर्को दाउपेचको प्रक्रियालाई अघि बढाउने, अर्को दाउपेचको प्रक्रियालाई सँगै जोडिरहने’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको चुलबुले स्वभाव र सधैँ उथलपुथल ल्याउने बानीका कारण अहिलेको अवस्था सिर्जना भएको बर्तौलाले बताउनुभयो । प्रधानमन्त्री दूषित खेलमा आफैँ सहभागी भएको उहाँको भनाइ छ । ‘एमालेलाई एक्ल्याउने, कमजोर बनाउने, सरकार भित्र रहँदा रहँदै आफ्नो सहयात्री दललाई त्यो अवस्था निर्माण भयो, हामी बाहिरियौँ’, बर्तौलाले भन्नुभयो ।
एमालेले बाहिरिँदा साथीको खोजीमा रहेको नेपाली कांग्रेसलाई साथ दिन पुगेको बर्तौलाले बताउनुभयो । ‘साथीको खोजीमा रहेका दुई दल मिलेर यो देशलाई निकास दिनुपर्छ, आजको सङ्कटलाई समाधान गर्ने दिशा तर्फ स्थिर सरकार दिनुपर्छ, त्यस प्रकारले हामीले समझदारी गर्यौँ, राष्ट्रिय सहमतिको सरकारको आकाङ्क्षा बोकेर अघि बढ्न समझदारी हामी बिच भएको छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले माया गरे जस्तो स्वाङ गरेर गैँडाले चाटे जसरी चाट्ने गरेका उहाँले बताउनुभयो । त्यसको विरुद्ध कांग्रेस र एमाले एक ठाउँमा उभिएका उहाँले स्पष्ट पार्नुभयो ।
देशमा देखिएको समस्या समाधान गर्ने कुरामा कांग्रेस र एमाले बिच समझदारी भएको उहाँले स्पष्ट पार्नुभयो । ‘सत्ता सहयात्रा अगाडि बढाउँदै गर्दा एकले अर्कालाई बिचमा हिँड्दा हिँड्दै लात्ताले नहान्ने सहमति भएको छ, प्रेम एउटासँग गर्ने, लिभिङ टुकेदर अर्कोसँग नगर्ने यो पनि सहमति भएको छ हामी बिचमा’, बर्तौलाले प्रष्ट शब्दमा भन्नुभयो ।
उहाँले कांग्रेस र एमाले बिच हिँड्दा हिँड्दै उथलपुथल नगर्ने सहमति भएको बताउनुभयो । देशको प्रणालीगत सुधारको लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने सहमति दुई दल बिच भएको पनि उहाँले जानकारी दिनुभयो ।
दुई दल संविधान कार्यान्वयनका क्रममा समय क्रममा राष्ट्रको अवस्था अनुसार संशोधन गरेर अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । संविधान संशोधन गणितका आधारमा होइन राष्ट्रिय सहमतिका साथ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आज पनि मन्त्री र प्रधानमन्त्री कुर्सीमा नै रहेकाले चाहेको फाइल खोल्न उहाँले चुनौती दिनुभयो । हिजो सरकार बहुमतमा रहँदा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूको आज सरकार अल्पमतमा पर्दा राजीनामा पत्र कहाँ पुग्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । उहाँले अहिले पनि सरकारमा भएकोले कुन कुन फाइल खोल्नु पर्ने हो खोल्न आग्रह गर्नुभयो ।
बर्तौलाले अहिले प्रधानमन्त्रीले विश्वासको मत नपाए सबैभन्दा ठुलो दलको प्रधानमन्त्री हुने भन्ने भ्रम फिँजाउने प्रयत्न भएको बताउनुभयो । उहाँले संविधान अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन पाउने व्यक्ति नै अब प्रधानमन्त्री बन्ने उहाँले दाबी गर्नुभयो ।
