काठमाडौं । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले एमालेले सत्ता समीकरण किन बदलेको भन्ने जवाफ नेपाली जनतालाई दिनुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच बदनियत पूर्ण सहमति भएको बताउनुभयो । चार महिना अघि केपी ओलीकै पटक पटकको प्रस्तावमा प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण फेरेर एमालेसँग सत्ता समीकरण बदलेको बताउँदै दाहालले अहिले के परिस्थितिले फेरी नयाँ समीकरण बनाउनु पर्यो भन्दै प्रश्न गर्नुभयो । ‘अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य छोड्नुभयो ?’ उहाँले भन्नुभयो ।
चार महिनाको बिचमा प्रधानमन्त्रीले के गर्नु पर्थ्यो, के गर्नुभएन भन्ने प्रश्नको जवाफ दिनु पर्ने उहाँले बताउनुभयो । बेचन झा र प्रतीक थापा गिरफ्तार परेको कारण वा धितो पत्र बोर्डका अध्यक्ष नियुक्ति प्रकरणले सहकार्य टुटेको हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
अहिलेसम्मको बेथिति, भ्रष्टाचार र अनियमिततामा आफ्नो सहभागिता नै नभए जस्तो गरी अहिले सांसदहरूले प्रश्न उठाएको भन्दै उहाँले आलोचना गर्नुभयो । केपी ओली सरकारमा रहँदा देशलाई १८ खरब ऋण लगाएर हिँडेको भन्दै उहाँले आलोचना गर्नुभयो । अनावश्यक क्षेत्रमा लगानी गरेर ओलीले देशलाई ऋण बोकाएको दाहालले दाबी गर्नुभयो ।
संविधान संशोधनको अहिले सार्वजनिक भएको खाका प्रतिगामी भएको उहाँले दाबी गर्नुभयो । कांग्रेस र एमालेले सोचे जस्तो गरी मुलुक अघि नबढ्ने उहाँले दाबी गर्नुभयो ।
भ्रष्टाचारको फाइल खुल्न लागेपछि अहिलेको सरकार ढाल्ने काम भएको उहाँले बताउनुभयो । ‘यो राष्ट्र र जनता प्रति उत्तरदायी भएर यो समीकरण बनेको होइन’, उहाँले भन्नुभयो ।
