काठमाडौं । कमिसनको चक्करमा प्रधानमन्त्री र अर्थ मन्त्रीसँगको मिलेमतोमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आजको बैठक स्थगित गरेपछि चार दलले आपत्ति जनाएका छन् ।
आज राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमतिको बाबजुद अचानक राष्ट्रिय सभाको बैठक स्थगित भएको विषय प्रति चार दलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल सम्बन्धी विधेयक २०८१ लाई पारित गर्नु पर्नेमा अर्थ मन्त्रीको गलत मनसायका कारण आज २७ गते तोकिएको राष्ट्रिय सभाको बैठकमा अर्थ मन्त्रीको अनुपस्थिति भन्दै राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने हामी तपसिलका दलहरूको असहमतिका बाबजुद पनि बैठक स्थगित गर्नु भएको छ’, चार दलका नेताहरूले बिहीबार संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
अर्थ मन्त्री वर्षमान पुनले आयकर ऐन २०५८ को दफा ५७ को उपदफा १ मा प्रतिबन्धात्मक प्रावधान राखी आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा ६ मा मुलुकलाई गम्भीर असर पार्ने गरी अरबौँको राजश्व छली हुने प्रावधान राखेको र राष्ट्रिय सभाबाट उक्त प्रतिबन्धात्मक वाक्यांश हटाई पहिलेकै व्यवस्था कायम रहने गरी संशोधन सुझाव राखेकोमा मन्त्रीले नीतिगत भ्रष्टाचार गर्न लागेको पोल खुल्ने भएपछि मन्त्री बैठकमा नै नआउने तथा आर्थिक वर्ष २०८१ को बजेटसँग सम्बन्धित आश्रित विधेयकहरू फेल गर्ने र नेपालको संविधानको धारा १११ र राष्ट्रिय सभा नियमावलीको व्यवस्था अनुसार राष्ट्रिय सभामा छलफल गर्न नदिने मनसायका साथ आजको बैठक स्थगित गरिएको उहाँहरूले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । सो विधेयक राष्ट्रिय सभामा छलफल नै गर्न नदिई १५ दिन पछि प्रतिनिधि सभाबाट स्वतः पारित गराई आफ्नो अभीष्ट पुरा गर्ने उद्देश्य देखिएको विज्ञप्तिमा उल्लेख छ । यसबाट राष्ट्रिय सभाले विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकार समेत हनन् भएको चार दलको ठहर छ ।
यस प्रकारको क्रियाकलाप प्रति गम्भीर असहमति रहेको जनाउँदै चार दलले यस्तो गैह्र जिम्मेवार र गैह्र राजनीतिक क्रियाकलापको भर्त्सना गरेका छन् । विज्ञप्तिमा राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपाने नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टीका दलका नेता मृगेन्द्र कुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दलका नेता शेखरकुमार सिंहले हस्ताक्षर गर्नुभएको छ ।
