काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले बाढी पहिरोबाट देशले ठुलो जनधनको क्षति बेहोर्नु परेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै पाण्डेले अब थप क्षति हुन नदिन तर्फ सरकारको ध्यान जानु पर्ने बताउनुभयो । बाटोको अवस्था थाहा नपाउँदा शुक्रबार बिहान दुईवटा बस फसेर बेपत्ता भएका उहाँले बताउनुभयो ।
पाण्डेले ती बसमा कति मानिस थिए भन्ने कुरा समेत किटान हुन नसकेको बताउनुभयो । नागढुंगादेखि मुग्लिनसम्म १५ ठाउँ बढी पहिरो गएको उहाँले बताउनुभयो । यस्तो अवस्थामा गाडी गुड्ने कुरालाई नियन्त्रण गर्न सकिएको छैन ।
पाण्डेले हुन सक्ने क्षतिलाई ध्यानमा राखेर सावधानी अपनाउनु पर्ने बताउनुभयो । ‘झण्डै भदौ १५ सम्म वर्षा बढी हुने बेलासम्म नाइट बस रोकौँ’, उहाँले भन्नुभयो ।
