काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बाढी पहिरोले भएको क्षतिको कारण देश शोकमा परेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै गैरेले चितवनमा शुक्रबार बिहान दुईवटा बस बगाएको तथा कास्कीमा गएका पहिरोले मानिसहरूको ज्यान लिएको घटाले बिहानदेखि नै देश शोकमा डुबेको बताउनुभयो । ‘आज बिहान उज्यालो नहुँदैदेखि सिङ्गो देश स्तब्ध छ, हामी सबै स्तब्ध छौँ’, उहाँले भन्नुभयो ।
विभिन्न ठाउँमा गएको पहिरोबाट धेरै ठाउँमा नागरिकले ज्यान गुमाउनु परेको गैरेले बताउनुभयो । बारम्बार कुरा उठाउँदा पनि राज्यले नागरिकलाई बचाउन नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो । गृह मन्त्रीले सबै तयारी गरेको जानकारी दिनुभएको भए पनि घटनाक्रमले सरकार केही नगरी बसेको देखिएको उहाँले बताउनुभयो ।
अब खाद्यान्नको कृत्रिम अभाव हुने तथा मूल्यवृद्धि हुने प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तो बेला मानव जीवनलाई सहज रूपले सञ्चालन हुने वातावरण बनाउन गैरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
