काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै दाहालले त्यस कारण माओवादीले संविधान कमजोर नबनाउने र कमजोर बनाउन पनि नदिने बताउनुभयो । आफू अल्पमतमा परेपछि कुनै पनि नियुक्ति नगरेर नैतिकता देखाएको दाहालले दाबी गर्नुभयो ।
आफूलाई पुरै अवधि जान्न भन्ने भन्ने कुरा थाहा भएकोले प्रधानमन्त्री पद गएकोमा चिन्ता नभएको उहाँले बताउनुभयो । एमाले र कांग्रेसलाई सुशासन कायम हुँदै गयो भन्ने डरले जोडेको प्रति भने आफूलाई चिन्ता रहेको दाहालले धारणा राख्नु भयो ।
दुई ठूला दल मिलेर सरकार बनाउँदा देशमा निरङ्कुशता र प्रतिगमन हुने हो कि भन्ने चिन्ता आफूलाई भएको दाहालले बताउनुभयो । यस्ता गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको धारणा छ । ‘मलाई अर्को चिन्ता प्रतिगमन र निरङ्कुशताको छ’, उहाँले भन्नुभयो ।
एमाले कांग्रेस मिलेर सरकार बदल्ने मात्र होइन संविधानलाई नै च्यात्ने काम हुन लागेको उहाँले बताउनुभयो । कांग्रेस एमालेको सहमतिले देशलाई निरङ्कुशता तर्फ लगेको उहाँले दाबी गर्नुभयो । ‘नियत सफा भएको भए अँध्यारो कोठा चाहिन्छ र ’, दाहालले भन्नुभयो ।
कांग्रेस र एमाले सरकारसँग डराएर अहिलेको ठाउँमा पुगेका उहाँले बताउनुभयो । ‘सहमति नाघेर, छलछाममा लागेर, संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्व तिर लैजाने दुष्साहस नगर्नुहोला’, उहाँले भन्नुभयो ।
आफूले प्रधानमन्त्रीको रूपमा विधिको शासन सुरु गरेको उहाँले बताउनुभयो । कांग्रेस एमालेका नेताहरू अहिले आफैँ मिलेका नभई कसैले मिलाएका उहाँको भनाइ । अहिले एमालेका केही नेताहरूले राष्ट्रिय सहमतिको बर्को ओढेका उहाँले टिप्पणी गर्नुभयो ।
असार १७ गते राति कांग्रेस र एमाले मिलिसक्दा पनि असार १८ गतेसम्म पनि हामी मिलेका छैनौँ भनेर आफूलाई ढाँटेका उहाँले बताउनुभयो । नियत सफा हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श उज्यालोमा नै प्रतिनिधि सभा भित्र नै सकिने उहाँको धारणा छ ।
आफ्नै अग्रसरतामा देशमा पाँच दलका सम्मानपूर्ण उपस्थिति र सहभागिता रहेको उहाँले बताउनुभयो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै दललाई आफ्नै सक्रियतामा सन्तुलित रूपमा बाँडफाँड गरेको दाहालले दाबी गर्नुभयो ।
सरकार ढल्नुको मुख्य कारण सरकारले गरेका राम्रा काम नै बन्न पुगेका उहाँले बताउनुभयो । विभिन्न फाइल खोल्न लागेपछि त्यही वर्गले दुईवटा दललाई मिलाएको उहाँले दाबी गर्नुभयो ।
दाहालले यसका विरुद्ध जनतालाई जाग्न आग्रह गर्नुभयो । जनता नजाग्ने हो भने फेरी पनि शासन सत्ता सीमित मानिसको हातमा जाने उहाँको भनाई छ ।
