काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेलाई संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभामा विaश्वासको मत माग्दै साना दलको अस्तित्व समाप्त गर्ने गरी संविधान संशोधनको तयारी भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । स्थायित्वको नाममा कांग्रेस–एमाले २०४७ साल तर्फ नै फर्कन लागेका उहाँले आरोप लगाउनुभयो ।
दाहालले दलित र महिलाको प्रतिनिधित्व अझ बढाएर प्रत्यक्ष कार्यकारी प्रणालीमा जान कांग्रेस–एमालेलाई चुनौती दिनुभयो । महिला, दलित, अल्पसङ्ख्यकका प्रतिनिधित्व कटौती गर्ने कुरा किमार्थ स्वीकार्य नरहेको उहाँले बताउनुभयो ।
उहाँले कांग्रेस र एमालेले आफूलाई निराधार आरोप लगाएका बताउनुभयो । आफूले देशको विकास र संविधान कार्यान्वयनमा रेकर्ड कायम गरेको प्रचण्डले दाबी गर्नुभयो । आफूलाई निराधार आरोप लगाएर संसद्का दुई दल यति बेला एक ठाउँमा उभिएका उहाँको भनाइ छ ।
आफूले प्रतिगमन विरुद्ध प्रतिवाद र प्रतिरोधको पहल सुरु गरेको दाहालले बताउनुभयो । त्यो आजकै प्रतिनिधि सभा बैठकबाट सुरु गरेको उहाँको भनाइ छ ।
सबैको समानुपातिक सहभागिताको कुरा उठाउँदा आफूलाई अस्थिरताको आरोप लगाएको उहाँले बत्ताउनुभयो । आफू कहिल्यै पनि अस्थिरताको पक्षमा नरहेको उहाँले दाबी गर्नुभयो ।
