काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले राज्यका निकाय हुँदा हुँदै पनि निकम्मा अवस्थामा हुँदा देशले अहिले समस्या झेलिरहेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मति माथिको छलफलमा बोल्दै भट्टराईले १८ महिनामा पाँचौँ पटक प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको बताउनुभयो । कामचलाउ सरकारले मुलुकको प्राकृतिक विपत्तिमा प्रभाकारी भूमिका निर्वाह गर्न नसक्ने कुरा थाहा हुँदा हुँदै प्रधानमन्त्रीले ठाउँ खालि नगर्दा देशमा थप मानिसले ज्यान गुमाउनु परेको भट्टराईको धारणा छ ।
प्रधानमन्त्रीको आजको संसद्को भाषण फेरि यो रोष्टममा बोल्न पाइँदैन कि भन्ने खालको भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले आज बोलेको कुराको जबाफदेहिता बाचुञ्जेल बोक्नु पर्ने उहाँले टिप्पणी गर्नुभयो ।
देशले निकास, स्थायित्व र अग्रगमन खोजेको बताउँदै भट्टराईले अस्थिरता भित्रबाट यो काम सम्भव नभएको बताउनुभयो । मुलुकका हरेक समस्या समाधान गरी देश छाडिरहेका युवाको भविष्य देश भित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बेला संसद्ले विश्वास र अविश्वास माथि मात्र छलफल गरेर बस्नु उचित नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘एतिहासिक आवश्यकताले देशका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस एउटा कठोर र एतिहासिक निर्माण पुग्नु पर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो ।
सामान्यतया संसदीय व्यवस्थामा दुईवटा ठुला दल सरकारमा नजाने भए पनि यो अभ्यास सधैँ निरपेक्ष नहुने उहाँले बताउनुभयो । आफूलाई अनुकूल हुँदा एउटा र आफूलाई प्रतिकूल हुँदा अर्को व्याख्या गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
एमाले र कांग्रेसकै अगुवाइ र सहकार्यबाट देशमा ठुला ठुला परिवर्तन भएका भट्टराईले सुनाउनुभयो । अहिलेको व्यवस्था ल्याउने यिनै ठुला दल हुन् भन्ने कुरा बिर्सन नहुने उहाँले बताउनुभयो ।
उहाँले अब पनि जात जातिको, समुदायको आगो झोसेर देशमा अस्थिरता फैलाउन सकिन्छ कि भन्ने सपना नदेख्न उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यक्तिगत स्वार्थको लागि त्यसलाई उधिन्ने प्रयास नगर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले प्रचण्डको पनि अब जाने ठाउँ कतै नभएको बताउनुभयो । उहाँले दाहाललाई प्रतिरोध र विद्रोहको धम्की नदिन आग्रह गर्नुभयो । 'तपाईँलाई छुटेर पनि अन्त जाने ठाउँ छैन', उहाँले भन्नुभयो ।
