काठमाडौं । गृह मन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र एमाले बिच भएको सहमतिको बारेमा नेपाली जनतालाई थाहा नभएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले एउटा व्यापारिको घरमा भएको सो सहमतिका बारेमा कांग्रेस र एमालेकै सांसदलाई पनि थाहा नभएको उहाँले बताउनुभयो । त्यो सहमति हुन सक्ने भए पनि राष्ट्रिय सहमति हुन नसक्ने उहाँको भनाइ छ ।
संविधान जोगाउने कुरामा कांग्रेस र एमाले बिच सहमति नभएको लामिछानेले बताउनुभयो । ‘जब अनुसन्धानको सुई कसैको ढोका ढकढक्याउन पुग्यो, तब तपाईँहरूलाई संविधानको याद आयो’, उहाँले भन्नुभयो ।
देशमा कुनै आपत् नआएको अवस्थामा दुई ठुला दलका बिच रातारात भएको सहमतिको पक्षमा आफूहरू लाग्न नसकेको लामिछानेले बताउनुभयो । देशमा प्राकृतिक विपद् परेका बेला रातारात भएको सहमतिको पक्षमा लाग्नु भन्दा आफूहरू पुरानै सहमतिमा कायम रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कांग्रेस र एमालेका नेताहरूले यति बेला आत्मविश्वास गुमाएका उहाँले बताउनुभयो । दुई ठुला दल मिलेर देशमा सुशासन हुन्छ भने आफूहरूलाई कुनै आपत्ति नभएको लामिछानेले बताउनुभयो । आफूहरूले सुशासनको लागि काम गरेको कारण ठुला राजनीतिक दल रातारात एक ठाउँमा आएका उहाँको दाबी छ ।
ठुला राजनीतिक दल एक ठाउँमा आउँदा शक्ति पृथकीकरणमा समस्या आउने हो कि भन्ने चिन्ता रास्वपालाई रहेको उहाँले बताउनुभयो । रास्वपालाई सरकारमा बस्न भन्दा प्रतिपक्षमा बस्न रमाइलो भएको उहाँले सुनाउनुभयो ।
