काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले आफ्नो भाषणमा सहकारीको उच्चारण नै गर्नुभएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा माग्नुभएको विश्वासको मत उपरको छलफलमा बोल्ने क्रममा रविले सहकारीको उच्चारण नै नगर्नुभएको हो ।
रविले आफ्नो कार्यकालमा भएका विभिन्न कामको वेलिविस्तार लगाउनुभएको थियो । आफ्नो कार्यकालमा विभिन्न प्रकरणमा गरिएको कारवाहीहरुबारे पनि उहाँले बताउनुभयो । दस बर्षदेखि फरार कालिबहादुर खामलाई पक्राउ गरिएको, प्रतिक थापालाई पक्राउ गरिएको, कृष्णबहादुर महरालाई पक्राउ गरिएको लगायतका विषयमा उहाँले चर्चा गर्नुभयो । आफ्नो कार्यकालमा विभिन्न प्रकरणहरुमा गरिएको कारवाहीको चर्चा गर्दै उहाँले आफूहरुले सुशासन दिएको दावी गर्नुभयो ।
चर्चामा आएका सबैजसो काण्ड र प्रकरणहरुको चर्चा गरे पनि रविले सहकारी ठगीमा विभिन्न व्यक्तिहरु पक्राउ गरिएको चर्चा नै गर्नुभएन । रवि लगत्तै बोल्नुभएका राप्रपाका सांसद् ज्ञानेन्द्रबहादुर शाहीले जिबी राई पक्राउ बारे रविले के गर्नुभयो भनी प्रश्न उठाउनुभएको थियो ।
