काठमाडौं । प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले सरकार गठनका लागि कांग्रेस र एमालेबिच भएको सहमति सार्वजनिक गर्न माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आजका दिनसम्म सो सम्झौता गोप्य राख्नुले दुई दल बिचका सहमति षडयन्त्रपूर्ण भएको बताउनुभयो । मध्य रातमा अँध्यारो कोठामा गरिएको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने पाण्डेले बताउनुभयो । ‘छलछाम गरेर राष्ट्रिय सहमति हुन सक्दैन, राष्ट्रिय हितमा हुन्छ सहमति’, उहाँले भन्नुभयो ।
राष्ट्रिय सहमति सबैका अगाडि बसेर गर्नुपर्ने बताउँदै उहाँले अँध्यारो कोठामा गरिएको सहमतिमा के छ भन्ने कुरा जनता र सांसदले थाहा नपाएका बताउनुभयो । उहाँले कांग्रेस र एमालेले राष्ट्रिय सहमतिका नाममा लोकतन्त्र र संविधान विरुद्ध छलछाम गरेका बताउनुभयो ।
