काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले देश अप्ठेरो परिस्थितिबाट गुज्रिएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गिरीले असार मसान्तमा बैङ्कहरू कति नाफा कमाइयो भनेर हिसाब निकाल्न लागेको अवस्थामा व्यवसायीहरू बैङ्कको ब्याज तिर्न नसकेर बोझमा परेका बताउनुभयो । कतिपय व्यवसायीहरूको अहिले मोबाइल अफ गरेर बस्नु पर्ने अवस्था रहेको धारणा गिरीले राख्नु भयो । ‘बैङ्कहरूले नाफा गन्न सुरु गर्छन्, व्यवसायीहरूले कति ऋण थपियो यो वर्ष भनेर हिसाब गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।
रोजगारीका निम्ति नेपाली युवा विदेश जाने स्थिति रहेको उहाँले बताउनुभयो । ‘भयानक परिदृश्यका बिचमा नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठुला राजनीतिक पार्टी र अन्य राजनीतिक पार्टीको वृहत् राष्ट्रिय सहमतिको सरकार निर्माण भएको छ, यसले आमजनतामा उत्साह भर्ने काम गरेको छ, देशका तमाम चुनौतीको पहाडलाई छिचोल्दै स्वप्नदर्शी नेता केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले आमजनताको निराशालाई आशामा बदल्ने छ र आशाको दियो बाल्न सफल हुने छ, त्यसका निम्ति हार्दिक शुभकामना दिन चाहन्छु’, उहाँले भन्नुभयो ।
