काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
नेपाली कांग्रेस र एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका ओलीले आज विश्वासको मत लिन लाग्नु भएको हो । देशका दुई ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले तथा संसदमा रहेका अन्य साना दलले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने भनिसकेकाले उहाँले विश्वासको मत पाउने निश्चित छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँग भएको सहमति सार्वजनिक गर्दै प्रतिनिधि सभामा विश्वासको मत माग्नु हुने छ । त्यस पछि अन्य दलले आफ्नो धारणा राखेपछि प्रधानमन्त्रीले त्यसलाई थप स्पष्ट पार्नुहुने छ । त्यस पछि विश्वासको मतका लागि मतदान हुने छ । मतदान पछि सभामुखले मत परिणाम घोषणा गर्नुहुने छ ।
कुल २ सय ७५ सदस्सीय प्रतिनिधि सभामा विश्वासको मत लिन कम्तीमा १ सय ३८ मत आवश्यक हुन्छ ।
