काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले उपसभामुख इन्दिरा राना मगर मानव तस्करीमा संलग्न भएको आरोप लगाउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले त्यस्तो घटनामा संलग्न उपसभामुखले प्रतिनिधि सभाको कमण्ड गर्न नमिल्ने बताउनुभयो । प्रतिनिधि सभासँग कुनै साइनो नभएका मानिसहरूलाई अमेरिका जानको लागि अन्तर्वार्ता लिइदिन उपसभामुखको हैसियतले पत्र लेखेको भन्दै उहाँले त्यो मानव तस्करीको कार्य भएको धारणा राख्नु भयो । ‘यस्तो अवस्थामा उपसभामुखले अब संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’, खतिवडाले प्रश्न गर्नुभयो ।
संसदमा कुनै पनि पत्र प्राप्त भयो सभामुखले तोक लगाउने र महासचिव मार्फत जाने प्रचलन रहेको उहाँले बताउनुभयो । कसैलाई थाहा नै नदिई अन्तरवार्ताको लागि उपसभामुखले पत्र लेखेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘संसद्को मात्र होइन, देशको अपमान भयो, यसको छानबिन हुनुपर्छ’, उहाँले भन्नुभयो ।
भिसा सहजिकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद् बन्न नसक्ने उहाँले बताउनुभयो । संसद्लाई मानव तस्करले प्रयोग गर्न खोजेको उहाँले आपत्ति जनाउनुभयो ।
मान्छे बेच्ने मान्छे नै संसदमा भएको बताउँदै उहाँले त्यसको अनुसन्धान गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तो अवस्थामा उपसभामुखले राजीनामा दिनु पर्ने उहाँको सुझाव छ ।
