काठमाडौं । प्रतिनिधि सभा सदस्य दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा राना मगर मानव तस्करीमा संलग्न भएको ठोकुवा गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले उपसभामुखको विज्ञप्तिले पन उहाँ मानव तस्करीमा संलग्न भएको पुष्टि गरेको बताउनुभयो । ‘पत्र आफैँ बोल्छ, पत्र सँगसँगै स्वयम् उपसभामुखको विज्ञप्ति पनि बोल्छ, मैले मानव तस्करी गरेको हो भन्ने बोल्छ त्यो पत्रले’, उहाँले भन्नुभयो ।
‘देशको चौथो दल हौँ, युवा हौँ, नयाँ हौँ, पुरानाले गरेनन् भनेर अंग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर यहाँ बजार्नेहरूको विज्ञप्ति पढियो, लेनदेन छ भन्ने कुरा अर्को विज्ञप्तिमा आयो, कसको लेनदेन छ यो कुरा चाहियो, हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन, जसले मान्छेलाई अनेक नाममा लेटर प्याडको प्रयोग गरेर, पदको दुरुपयोग गरेर मान्छे बेचबिखन गर्ने’, उहाँले भन्नुभयो ।
नेपाली अलपत्र पर्दा करुणा नजाग्ने उपसभामुखलाई अमेरिका जान नपाएका र महिला सम्मेलनमा कुनै सरोकार नै नराख्ने पुरुषलाई अमेरिका पठाउन करुणा जागेको भन्दै उहाँले कटाक्ष गर्नुभयो । पौडेलले सांसदहरूलाई केही जान्दैनन् वा केही बुझ्दैनन् भनेर बेकुफ नबनाउन आग्रह गर्नुभयो । ‘हामीले जान्नु पर्दैन ? हामीले बनाएको सभामुख होइन ? के हामी बुझेनौँ ?’, उहाँले भन्नुभयो ।
पौडेलले सो घटनाको विषयमा छानबिन हुनु पर्ने बताउनुभयो । संसद्ले त्यतिकै नछाड्ने उहाँको भनाइ छ ।
