काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश चुनौतीको संघारमा उभिएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै त्यसबाट देशलाई माथि उठाउन आफूले प्रधानमन्त्री पदको जिम्मेवारी लिएका ओलीले बताउनुभयो । ‘सिङ्गो देश निराशामा छ, २०४६ साल पछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक भोग्दै छ, अर्थतन्त्र असाध्यै डामाडोलको अवस्थामा छ, आयात र निर्यात दुवै घटेको अवस्थामा छ’, ओलीले भन्नुभयो ।
अहिले बैँकमा पैसा थुप्रिएको भए पनि कर्जा प्रवाह नभएको अवस्था रहेको उहाँले बताउनुभयो । ऋण लिएर तिर्न नसकेका कारण कालोसूचीमा पर्नेको व्यवसायीको सङ्ख्या बढ्दो अवस्थामा रहेको उहाँले सुनाउनुभयो । सरकार निजी क्षेत्रसँग अनुदार भयो, सरकाले दुःख दियो भन्ने गुनासो बढेको बढेकै ओलीले बताउनुभयो । सरकाले थुन्ने अनि सुन्ने काम गर्यो भन्ने गुनासो बढेको ओलीले सुनाउनुभयो । ‘उद्योगी, व्यवसायी मरीच झैँ चाउरिएका छन्’, उहाँले भन्नुभयो ।
करिब ६० लाख बढी जनता भ्रष्टाचारको भुङ्ग्रोमा पिल्सिएका तथा भ्रष्टाचारले सीमा नाघेको ओलीले बताउनुभयो । विमानस्थलमा विदेश जाने युवाको लाइन कहालीलाग्दो भएको उहाँले सुनाउनुभयो । ‘मलाई सबैभन्दा डर लागेको कुरा देश प्रति जनताको भरोसा टुटेको स्थिति छ, तिनको मनोबल नराम्रो गरी गिरेको छ’, उहाँले भन्नुभयो ।
नागरिकमा देखिएको गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न र देशलाई तीव्र विकासको गतिमा अघि बढाउन अहिलेको सरकार बनेको उहाँले दाबी गर्नुभयो । ‘यसमा सबै स्पष्ट हुनुभए हुन्छ’, ओलीले भन्नुभयो ।
