काठमाडौं । प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले देशको विकास र स्थिरताको लागि नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा सत्ता समीकरण भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले आम जनताको अपेक्षा र स्थिरता र जनामा आशा जगाउन अहिलेको सरकारले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार गठन भएको छ’, देउवाले भन्नुभयो ।
देश विकासको लागि स्थिर सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासन दिनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
संविधानलाई समयानुकूल परिमार्जन गर्न लोकतन्त्रको मान्यता अनुरूप भएको उहाँले बताउनुभयो । संविधान संशोधन सबै दलको सहमतिमा हुने र लोकतन्त्रलाई त्यसले अझ सुदृढ गराउने उहाँले स्पष्ट पार्नुभयो । ‘सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो’, उहाँले भन्नुभयो ।
देउवाले प्रधानमन्त्री ओली योग्य र सक्षम व्यक्ति भएको बताउनुभयो । ‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रीमण्डलमा रहेको साथीहरू पनि योग्य र सक्षम हुनुहुन्छ, उहाँहरूको नेतृत्वमा मुलुकले नयाँ समृद्धिको बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो ।
राजनीतिलाई स्थिरता तर्फ लैजान वर्तमान सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । एमालेसँग भएको सहमति प्रति नेपाली कांग्रेस दृढ रहेन उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
