काठमाडौं । प्रतिनिधि सभा सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशमा आर्थिक शिथिलता भए पनि त्यो बिस्तारै उकालो लाग्दै गएको बताउनुभयो । ‘तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन, बिचमा केही परिघटनाले आर्थिक शिथिलता भए पनि अहिले बिस्तारै उकालो लागेको छ’, उहाँले भन्नुभयो ।
उहाँले अहिले चार प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर रहेको बताउनुभयो । १९ महिनाको वस्तु आयात गर्ने पर्याप्त विदेशी मुद्रा रहेको उहाँले बताउनुभयो ।
पुनले एमालेले अपारदर्शी ढङ्गले माओवादीसँग गठबन्धन तोडेको बताउनुभयो । उहाँले सात बुँदेलाई देखाएर प्रधानमन्त्रीले पुरानो गठबन्धन तोड्नुको औचित्य पुष्टि गर्न खोजेको धारणा राख्नु भयो । पश्चगमनतिर जानकै लागि संविधान संशोधन गर्न लागिएको उहाँले आरोप लगाउनुभयो ।
