काठमाडौं । प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले उनले नेपालको राजनीतिमा गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघातको शृङ्खला चलिरहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालले अहिले कांग्रेस र एमालेको बिच भएको गठबन्धनले जनतामा कुनै उत्साह नजागेको बताउनुभयो । नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भन्ने सन्देश संसारमा प्रवाह भइरहेकाले यसमा गम्भीर हुन जरुरी रहेको उहाँले उहाँले टिप्पणी गर्नुभयो । ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ भनेर समाचार प्रवाह हुँदा पक्कै नेपाल र नेपालीले गौरव बोध गर्न सक्दैनन्’, उहाँले भन्नुभयो ।
नेपालले एमालेले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै औचित्य नभएको बताउनुभयो । ‘एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समीकरण निर्माण केका लागि जरुरी थियो ?’, उहाँले भन्नुभयो ।
स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिनुभएको ओलीले प्रचण्डलाई नर्कतिर हुलिदिएर आफू स्वर्गको बाटो लागेको नेपालले टिप्पणी गर्नुभयो । ‘आफू स्वर्गतिर लाग्यो, अर्कोलाई लात्ताले हिर्काएर नर्कतिर’, उहाँले भन्नुभयो ।
प्रचण्डसँग कसम खाएर अघिल्लो रातिसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेको नेपालले बताउनुभयो । यस्तो धोका नदिन नेपालले ओलीलाई आग्रह गर्नुभयो ।
