काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले लेनदेन र स्वार्थ नमिलेका कारण माओवादीका नेताहरू ऊर्जा मन्त्री भएको बेला व्यवसायीका विद्युत् लाइन काटिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै विगत आठ÷दश वर्षको बिचमा लगातार माओवादीकै नेताहरू ऊर्जा मन्त्री बनेका र आग्रह पूर्वाग्रह राखेर व्यवसायीहरूका विद्युत् लाइन काटिएका उहाँले बताउनुभयो । केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि सरकारी राजश्व तिर्न बाँकी छ भने तिर्नुपर्ने तर आग्रह पूर्वाग्रह राखेर कुनै पनि उद्योगीको विद्युत् लाइन काट्न नहुने र काटेको भए जोड्न निर्देशन दिएको कुरालाई माओवादीका सांसदहरूले कोकोहोलो गरेर भ्रम फिँजाउने काम गरेको भन्दै गिरीले आपत्ति जनाउनुभयो । ‘यति पैसा दिनुपर्छ पर्छ, दिँदैनौँ भने लाइन काट्छौँ भनेर भन्ने कसैलाई पनि अधिकार हुँदैन’, उहाँले भन्नुभयो ।
त्यस्ता समस्या छन् भने समाधान निकालौँ भने र प्रधानमन्त्रीले भनेको कुरालाई अपव्याख्या गर्ने काम भएको उहाँले बताउनुभयो । यस विषयलाई लिएर प्रमुख प्रतिपक्षका सांसदले कोकोहोलो मच्चाउने काम गरेको गिरीले टिप्पणी गर्नुभयो ।
विद्युत् प्राधिकरणले किन समयमा शुल्क नतिराएको भन्दै उहाँले प्रश्न गर्नुभयो । के लेनदेनको विषय नमिलेर प्राधिकरण यति बेलासम्म अल्झिएको भन्ने उहाँको प्रश्न छ ।
विद्युत् प्राधिकरणलाई आफूले प्रयोग गरेको विद्युत् महसुल तिर्न व्यवसायी तयार हुँदा पनि प्राधिकरणले उहाँहरूलाई किन प्रयोग गरेको महसुलको प्रतिवेदन दिन तयार नभएको भन्ने गिरीको प्रश्न छ ।
