काठमाडौं । गृह मन्त्री रमेश लेखकले मनसुनजन्य विपतका कारण देशका ७७ वटै जिल्ला प्रभावित भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले देशभर भएका विपतका घटना पीडितको खोज तथा उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको उहाँले बताउनुभयो ।
१ हजार ५ सय ९२ प्रकोपका घटनामा परी १ सय ३० जनाको ज्यान गएको उहाँले बताउनुभयो । ती घटनामा १ सय ४४ जना घाइते भएका लेखकले जनाकारी दिनुभयो । बाढी पहिरोमा परी ४८ जना बेपत्ता भएका उहाँले बताउनुभयो । बेपत्ता भएका व्यक्ति पनि १० दिन भित्र फेला नपरे उनीहरूका परिवारलाई मृतकका परिवारलाई सरह राहत रकम दिने व्यवस्था मिलाइएको लेखकले बताउनुभयो ।
चितवनमा पहिरोले बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका ६२ जना मध्ये २४ को शव फेला परेको र १९ जनाको पहिचान भई परिवारलाई शव बुझाइएको उहाँले जानकारी दिनुभयो । बाँकी पाँच जनाको पहिचान हुन नसकेको उहाँले बताउनुभयो । हराइरहेकाको खोजीमा नेपाली सुरक्षाकर्मी तथा भारतीय दक्ष जनशक्ति समेतले संयुक्त रूपमा खटिरहेका लेखकले जनाकारी दिनुभयो ।
सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या घटनाको पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँको टाउकोमा धारिलो हतियार प्रहारको चोट देखिएको उहाँले बताउनुभयो । सो विषयलाई सरकारले अत्यन्त गम्भीरताका साथ लिएको लेखकले जानकारी दिनुभयो ।
