काठमाडौं । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले नेपालमा पूर्व तयारी नहुँदा विपतका घटना हुने गरेका बताउँदै त्यसको पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै तामाङले हिउँदमा डढेलो र वर्षामा बाढी पहिरोको घटनाले मानिसहरूको ज्यान जाने गरेको बताउनुभयो । ‘हिउँदमा डढेलो लागेर गाउँ ध्वस्त भएको छ, वर्षामा पानी परेर, बाढी पहिरो गएर गाउँ विचलित छ, मान्छेहरूको ज्यान गुमी राखेको छ, अब आउने आर्थिक वर्षको हिउँदको बेलामा प्रत्येक पालिकामा जङ्गल जङ्गलमा क्यामरा फिट गरेर आगो लगाउने मानिसहरूलाई समाउनु पर्यो’, उहाँले भन्नुभयो ।
वर्षाको बेलामा हुने क्षतिको पूर्वतयारीमा जुट्नु पर्नेमा उहाँले जोड दिनुभयो । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोबाट तीनजना बालिकाको ज्यान गएको बताउँदै उहाँले उनीहरूको परिवारलाई राहत सहयोग गर्न माग गर्नुभयो ।
उहाँले आफू २०५७ सालबाट नेपालमा बढी प्लेन चढ्ने २५ जना भित्र पर्ने बताउँदै उहाँले सौर्यका जहाज बिग्रिरहने भएकोले मानिसहरू ती प्लेन चढ्न छाडेको उहाँले बताउनुभयो । अहिले पनि श्री एयरलाइन्ससँग त्यस्तै बिग्रिरहने खालका चारवटा प्लेन भएकाले त्यस्ता प्लेन चलाउनबाट रोक्नु पर्ने उहाँको धारणा छ ।
