काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले विगतमा सरकार किन असफल भए भन्ने कुराको समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पालैसँग सरकार पुग्ने र बाहिरिने तथा सरकारमा जान लाइन बसेकाहरूले विगत ७० वर्षदेखि नेपालमा किन स्थायी सरकार बनेन भन्ने कुराको गम्भीर समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस विषयमा अझै धेरै समीक्षा देशका ठुला दलले गर्नुपर्ने आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले बताउनुभयो ।
विगतबाट नसिक्ने, सिक्न नचाहने र सिके पनि चाँडै बिर्सने गर्दा छिटो मिल्ने र लामो समयसम्म नटिक्ने प्रवृत्ति नेपालका राजनीतिक दलका नेताहरुमा दोहोरिएको उहाँले बताउनुभयो । यसबाट पाठ सिकेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।
अहिले सरकारको सफलताको पहिलो सूत्र भनेको सात बुँदे सहमतिको इमानदार र पूर्ण पालना भएको उहाँले बताउनुभयो । त्यस्तै भएका विमतिको इमानदार स्वीकारोक्तिले अहिलेको गठबन्धनलाई अन्तिम गन्तव्यसम्म पुर्याउने उहाँको धारणा छ ।
विपक्षी कित्ताबाट उठ्ने प्रश्नलाई विरोधका लागि विरोध हो भन्ने रूपमा लिनु नहुने उहाँले बताउनुभयो । विपक्षीले उठाएका कुरालाई गम्भीरताका साथ लिनु पर्नेमा उहाँले जोड छ । ‘विपक्षी दललाई विश्वासमा गाँस्न जरुरी छ, सरकारको सफलताका लागि’, उहाँले भन्नुभयो ।
उहाँले विभिन्न क्षेत्रमा नागरिकले अनुभूत गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो । विभिन्न सडक निर्माण, भूमिहीनको समस्या समाधान, स्वास्थ्य बिमा लगायतका क्षेत्रमा सरकारले तत्काल काम गर्नुपर्नेमा उहाँको सुझाव छ । सहकारी ठगीको घटनमा पीडितलाई सरकारले अभिभावभकीय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
कांग्रेस, एमालेको गठबन्धन दुईवटा फाइल दबाउन गरिएको हो भन्ने भाष्य निर्माण गरिएको बताउँदै उहाँले त्यसलाई सरकारले कामबाट चिर्नुपर्ने बताउनुभयो । भुटानी शरणार्थी र गिरीबन्धु चिया बगान प्रकरणलाई सरकारले टुङ्गोमा पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘निर्दोष कोही फस्नु हुन्न, दोषी कोही उम्किनु हुन्न’, उहाँले भन्नुभयो ।
निवर्तमान गृह मन्त्री रवि लामिछानेले सरकारबाट बाहिरिन लाग्दा फाइल खोलेको २४ घण्टा भित्र सरकार ढालिएको भनि सफेद झुट बोलेर देश र जनतालाई ढाँट्ने काम गरेको उहाँले बताउनुभयो । ‘कुनै फाइल खोलिएका आधारमा सरकार ढालियो भन्ने कुरा बिलकुल गलत छ’, उहाँले भन्नुभयो ।
दुईवटा संघर्षबाट आएका ठुला दलले मुलुकको परिवर्तनको लागि एक भएर काम गर्न खोज्दा अपमानित गर्ने गरी आरोप लगाउने काम लामिछानेले गर्नुभएको उहाँले बताउनुभयो । रवि लामिछानेले जम्मा कान्तिपुर मिडियाका मालिकको फाइले खोलेको र त्यसमा पहाड खोतल्दा मुसा फेला परेको उहाँको टिप्पणी छ ।
