काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले सरकारले नेपाल विद्युत् प्राधिकरणका दुई जना सदस्यलाई बरखास्त गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सापकोटाले उहाँहरूलाई नियम उलङ्घन गर्दै सरकारले बरखास्त गरेको बताउनुभयो । ‘सरकार यो देशमा अटोक्रेसी चलाउन खोजिरहेको छ’, सो घटनासँग जोडेर सापकोटाले भन्नुभयो ।
संसदीय समितिले दिएको निर्देशन पालन गर्नुको सट्टा सरकारले विद्युत् महसुल नतिर्ने उद्यमीलाई बचाएर त्यसको विरुद्ध आवाज उठाउने सञ्चालक सदस्यलाई कारबाही गरेको उहाँले आरोप लगाउनुभयो ।
अहिलेका सार्वजनिक लेखा समितिका सभापतिले बक्यौता रकम तिर्न बाँकी रहेको उद्यमीसँग शङ्कास्पद भेट गरेको उहाँले बताउनुभयो । संसदीय मूल्य मान्यता अनुसार तत्काल प्रतिपक्षलाई दिन पनि उहाँले माग गर्नुभयो ।
