काठमाडौं। प्रतिनिधि सभा सदस्य सोभिता गौतमले आफ्नो निर्वाचन क्षेत्रमा जाँदा राष्ट्रिय स्तरको दलका युवाहरूले आफू माथि दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै गौतमले आफू आफ्नै निर्वाचन क्षेत्रमा जाँदा युवाहरूले घेरेर अपशब्द बोली दुर्व्यवहार गरेको बताउनुभयो । म माथि सार्वजनिक स्थानमा भएको अभद्र व्यवहार र सुरक्षा चुनौती बारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’, उहाँले भन्नुभयो ।
साँझ ५ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका– ६ मनकामना टोलमा पुगेर फर्कने क्रममा आफू माथि युवाहरूले घेरा हालेर दुर्व्यवहार गरेको गौतमले बताउनुभयो । आफू र आफ्नो स्वकीय सचिव फर्कँदै गर्दा असामान्य अवस्थामा रहेका युवाहरूले आफू माथि दुर्व्यवहार गरेको गौतमले आरोप लगाउनुभयो । सो स्थानमा आफूलाई चक्रब्युह जस्तो रचेर घेरेर दुर्व्यवहार गरेको गौतमको भनाइ छ ।
आफूलाई तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर अश्लील गाली गरिएको उहाँले बताउनुभयो । सो विवादको क्रममा आफूले जवाफ दिएको भिडियो मात्र अपलोड गरिएको र आफूलाई अश्लील गाली गर्ने व्यक्तिले नै आफूलाई विवादमा पार्ने गरी सो भिडियो अपलोड गरेको उहाँको भनाई छ ।
दलहरूले आफ्ना कार्यकर्तालाई र सुरक्षा निकायले त्यस्ता मानिसलाई नियन्त्रणमा लिनु पर्ने गौतमले बताउनुभयो ।
